समाज

हचुमासा वनको बजेट १ करोड ५ लाख

By admin

October 16, 2023

अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै सोमबार २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा समूहका निवर्तमान अध्यक्ष युवराज लोहार, निवर्तमान कार्यालय सचिव श्रीप्रसाद नेपाल, कृषकहरु धनबहादुर तामाङ, पदमबहादुर निरौला र हेम लम्साललाई सम्मान गरिएको हो ।

 

यसैगरी, समूहले अभियन्ता विष्णुलाल ढकाल, ज्येष्ठ नागरिक केदारनाथ खतिवडा, ढाका बुनाई तालिमबाट स्वरोजगार बन्न सफल आयुष्मा लिम्बू, रणमाया तामाङ र सुनिता एक्तेनलाई पनि सम्मान गरेको छ ।

 

कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभाको उद्घाटन नगर प्रमुख गोम्देनले गरेका थिए । सम्मानित व्यक्तित्वहरुलाई समूहका अध्यक्ष बस्नेत, प्रमुख अतिथि गोम्देन र अर्जुनधारा १ नम्बर वडाका अध्यक्ष उपेन्द्र बस्नेतले दोसल्ला, टोपी पहिर्याएर सम्मान गरेका हुन् ।

 

कार्यक्रममा समूहका अध्यक्ष प्रसाईंले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सहसचिव देउकुमार नेम्वाङ ‘विकास’ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गत आर्थिक वर्ष ०७९/०८०मा एक करोड छ लाख ११ हजार दुई सय ७१ रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०/०८१ मा अनुमानित एक करोड पाँच लाख ६५ हजार छ सय सात रुपैयाँ ४० पैसा बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरेको छ ।

 

कार्यक्रममा नगर प्रमुख गोम्देन, वडाध्यक्ष बस्नेत, डिभिजन सहायक वन अधिकृत नथुनी गोहिवार यादव, नेकपा एमालेका खड्गबहादुर गोले, नेपाली काँग्रेसका मदन ढकाल, नेकपा माओवादी केन्द्रका पवन खनाल, सम्मानित व्यक्तित्वबाट पदमबहादुर निरौला, हलुवागढ सामुदायिक वनकी उपाध्यक्ष बुद्धकला फुयँल, सल्लाहकार सदस्य विजेन्द्रकुमार एक्तेन, सामाजिक तथा बौद्धिक व्यक्तित्व गोपीकृष्ण खतिवडालगायतले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानुभक्त श्रेष्ठ, राप्रपाका रंगलाल मिश्रलगायतको आतिथ्यता रहेको थियो । समूहकी सदस्य कुमारी बुर्जा मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रभा नेपालले गरेकी थिइन् ।