समाज

बन्दले धनकुटामा यातायात ठप्प

By admin

October 17, 2023

धनकुटा । पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले मंगलबार बिहानदेखि गरेको बन्दका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा यातायात ठप्प रहेको छ ।

 

धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा गत भदौ ८ गते युवा संघले आयोजना गरेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले गत बिहीबार पहिचान पक्षधरका तीन जना कार्यकर्ता पक्राउ गरेको थियो । उक्त घटनामा पहिचान पक्षधरका कार्यकर्ताले युवा संघका केन्द्रीय अध्यक्षसहित सवार गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका थिए ।

 

उक्त घटनामा पक्राउ परेका कार्यकर्ता बिनासर्त रिहाइ गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले बन्द आह्वान गरेको जनाएको छ । संघर्ष समितिका कार्यकर्ताले धनकुटा बजारनजिक फोक्लेन्ड टापु क्षेत्र र भेडेटारमा सवारीसाधन रोकेका थिए ।

 

बन्दकर्ता बिहानैदेखि सडकमा उत्रिँदा लामो तथा छोटो दूरीका सवारी साधन प्रभावित भएको प्रहरीको भनाइ छ । बन्दका कारण धनकुटा भएर तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथर लगायत जिल्लामा आवतजावत गर्ने यात्रु बीच बाटैमा अलपत्र परे ।

 

यसैबीच, सङ्घर्ष समितिले गरेको धनकुटा बन्द अपराह्न खुलेको छ । पक्राउ कार्यकर्ता बिनासर्त छाड्ने प्रक्रियामा जाने सहमति भएसँगै बन्द खुलेको सङ्घर्ष समितिका धनकुटा फोनिज कोशी प्रदेश संयोजक सन्तवीर लामाले जानकारी दिए । तर, प्रशासनले नछाडेमा पुनः बन्द गरिने जनाइएको छ ।

 

यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने बन्दकर्तासँग संस्थागतरुपमा कुनै वार्ता छलफल नै नभएको बताएका छन् । व्यक्तिगतरुपमा बन्द नगर्न आग्रह गरिएको र सोही आग्रह स्वीकार गरी बन्द खुलाएको हुनसक्ने उनको भनाइ छ ।