खेलकुद

विश्वकप छनोटः लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

By admin

October 17, 2023

झापा । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ ।

 

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३औं मिनेटमा नेपालका लािग गोल गरेका थिए । समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

 

काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा जित निकाल्ने टिम अघिल्लो चरण प्रवेश गर्न पाउने थियो ।

 

पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा नेपालको खतरा टार्दै कप्तान किरण चेम्जोङले पाहुना टोलीको अग्रतालाई जोगाएका थिए ।

 

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । प्रशिक्षक भिसेन्जो एनिसले श्रेष्ठलाई सेन्टर फरवार्डको रुपमा खेलाएका थिए । नेपालले अब समूह एचमा बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।