समाज

साहित्य चौतारीद्वारा दिवङ्गत श्रष्टा सर्जकको स्मृतिमा दीप प्रज्वलन

By admin

October 18, 2023

बिर्तामोड । साहित्य चौतारी झापाले दिवङ्गत श्रष्टा सर्जकलाई स्मरण गर्दै दीप प्रज्वलन गरेको छ । २०५६ असार ३१ देखि यता दिवङ्गत भएका कार्य समिति सदस्य, सल्लाहकार, निर्णायक, प्रमुख तथा विशेष अतिथि, पुरस्कृत, सम्मानित एवम् अभिनन्दित ५० जना व्यक्तित्वको सम्मानमा साहित्य चौतारीले दीप प्रज्वलन गरेको हो ।

 

आफ्नो सिर्जनशील प्रतिभाका माध्यमबाट भाषा, कला, संगीत र संस्कृतिको संरक्षणमा योगदान गर्ने व्यक्तित्वहरुको सम्मानमा पितृ पक्ष सोह्र श्राद्धको अवसरमा दीप प्रज्वलन गरी रचना वाचन, गायन तथा योगदानको चर्चा परिचर्चा गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

 

संरक्षक श्रेष्ठका अनुसार साहित्य, संगीत र कलाको माध्यमबाट साहित्य चौतारीको श्रीवृद्धिमा प्रत्यक्ष परोक्ष योगदान गर्ने र अनरवत सेवामा समर्पित व्यक्तित्वहरुलाई सम्झने परम्पराका रुपमा सम्मानस्वरुप दीप प्रज्वलन गरिएको हो ।

 

पूर्वको पशुपतिनाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधामका प्रमुख अर्चक अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्य र साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच साहित्य चौतारीले दिवङ्गत व्यक्तित्वहरुलाई स्मरण गरेको हो ।

 

कार्यक्रममा संस्थाका संस्थापक सदस्य एवम् सम्मानित व्यक्तित्व हरिचरण बानियाँको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा सल्लाहकारहरु अनिरुद्र ओली, राजेन्द्र संग्रौला हरिनारायण भट्टराई, कवि मीना अधिकारी, साहित्य चौतारीका कोषाध्यक्ष भवानी गौतम, सदस्य चित्रा पौडेल, कवि विनोद खनाल प्रमोद दाहाल लगायतले दिवङ्गत व्यक्तित्वहरुको योगदानको चर्चा गर्दै उनीहरुका सिर्जना प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा संरक्षक श्रेष्ठले कर्मगुरु जेवी आले, साहित्य चौतारीका त्तकालीन सचिव डिकमान विरही, संगीत सिर्जना गुरु मदन दीपविम, राष्ट्रकवि माधवप्रसाद घिमिरे, नारायणगोपाल, फत्तेमान लगायतका विशिष्ट प्रतिभाको योगदानमाथि चर्चा गर्दै उनीहरुका सिर्जना प्रस्तुत गरेका थिए ।

 

साहित्यतर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेको कार्यक्रम चौतारीका सहसचिव देवीचरण भण्डारीले सञ्चालन गरेका थिए । भक्ति संगीत कृष्ण निरौला लगायतको प्रस्तुतिका बीच कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार केशव आचार्य लगायतका साहित्यकारको उपस्थिति रहेको थियो ।