खेलकुद

एसियाडमा पदक जितेकी मेनुकालाई झापामा सम्मान

By admin

October 21, 2023

बिर्तामोड । १९औँ एशियाली खेलकुद (एसियाड) मा नेपालको तर्फबाट कांस्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापाका राजवंशीहरूले सम्मान गरेका छन् ।

 

राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कप्तान मेनुकालाई सम्मान गरेको हो । बिर्तामोड ३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा कार्यक्रम गरी नेपालकै गौरव मेनुका र अखिल नेपाल कबड्डी संघका केन्द्रीय उपाध्यक्ष रतिया राजवंशीलाई सम्मान गरिएको हो । उनीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

 

डेढ दशकदेखि कबड्डी खेलमै समर्पित रहेकी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाले एशियाली खेलकुदको कांस्य पदकसम्मको यात्रामा अनेक आरोह अवरोह भोगेकी छन् । जसबाट उनले ठुलो सफलता हात पार्दै राजवंशी समुदाय र नेपालकै गहना बन्न सफल भएकी छन् ।

 

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा समितिका केन्द्रीय सचिव लखनलाल राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे ।