समाज

खुदुनाबारी सवारी दुर्घटनामा दुई जनाको मृत्यु

By admin

October 21, 2023

शनिश्चरे । अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीस्थित झेलेनी चौकमा आज दिउँसो भएको सवारी दुर्घटना परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको चार चक्के र स्कुटी अर्जुनधारा २ स्थित गाँजाबारीको रहेको छ ।

 

शनिबार दिउँसो २ बजेतिर भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक (छोटा हात्ती)संग विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

 

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा २ गाजाबारीका अन्दाजी ३५ वर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार गाजाबारीकै अन्दाजी ३६ वर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा दिउँसो २ः४० बजे मृत्यु भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

 

छोटा हात्ती गाडीका चालक अर्जुनधारा २ कै २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि चालक र दुवै सवारी साधनलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ । मृत्यु हुने दुवैजना र छोटा हात्ती गाडी चालक पनि एउटै गाउँका बासिन्दा भएको बताइएको छ ।