झापा । अर्जुनधारामा रहेको शनिश्चरे फुटबल क्लबलाई शनिबार दोहोरो उपाधि मिलेको छ । शनिश्चरेले अर्जुनधारा ११ मा आयोजित प्रथम लक्ष्मीधाप फुटबल र बुद्धशान्तिको मंगलबारेमा आयोजित मंगलबारे च्यालेन्ज कपको उपाधि एकैदिन उचालेको हो ।
शनिश्चरेले अर्जुनधारामा खोपबाडीको न्यू स्टार क्लब र बुद्धशान्तिमा धुलाबारीलाई पराजित गर्दै दशैँको खुसीमा आफ्ना समर्थकलाई दोहोरो खुसी बाँडेको छ । मंगलबारे युथ क्लबद्वारा आयोजित मंगलबारे च्यालेन्ज कप २०८० को उपाधि शनिश्चरे फुटबल क्लब अर्जुनधाराले उठाएको छ ।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा शनिश्चरेले धुलाबारी ट्रेनिङ सेन्टरलाई ३-१ गोलअन्तरले पराजित गरेर उपाधि रक्षा गरेको हो । फाइनल खेलको म्यान अफ द म्याच प्रदिप बुढाथोकी भए ।
विजेता शनिश्चरेले प्रथमहुँदै २५ हजार र ट्रफी पायो भने उपविजेता धुलाबारीले १५ हजारमा चित्त बुझाएको छ । लक्ष्मीधापमा शनिश्चरेले प्रथम हुँदै नगद ५१ हजार र ट्रफी पायाे ।