समाज

आज दशैँको मुख्य दिन, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

By admin

October 24, 2023

झापा । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदैछ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।

 

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।

 

कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ । गएको साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु भएको हो।