समाज

आजको चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने

By admin

October 28, 2023

झापा । कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।

 

‘यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भूभागबाट देखिनेछ,’ बीपी कोइरालाल मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने, ‘नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिनेछ ।’ खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ ।

 

‘कोजाग्रात पूर्णिमाका दिन लाग्ने पृथ्वीको सघन छायाले अधिकतम समयमा चन्द्रमाको ६ प्रतिशत मात्रै ढाक्नेछ,’ नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘राति २ बजे आसपास चन्द्रमा हेर्दामात्रै ग्रहण भएको जस्तो लाग्नेछ । थोरै भाग मात्रै ढाक्नेछ ।’

 

चन्द्रग्रहण छोटो समय देखिने भए पनि त्यस रातको आकाश अवलोकनका लागि मौसम भने अनुकूल रहनेछ । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिको केही पहाडी क्षेत्रमा बदली भए पनि देशको अधिकांश भूभागको आकाश सफा रहने जनाएको छ ।