समाज

झापामा यसवर्षको दशैंमा दुर्घटना घटे पनि मृत्युदर बढ्यो

By admin

October 29, 2023

झापा । झापामा गतवर्षको तुलनामा यसवर्षको दशैंमा सवारी दुर्घटना घटे पनि मृत्युदर भने बढेको छ । गतवर्षको दशैंमा घटस्थापनादेखि पूर्णिमासम्म जिल्लाभरि ४० वटा दुर्घटना भएको थियो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले यसवर्ष घटस्थापनादेखि पूर्णिमासम्म २२ वटा दुर्घटना भएका छन् । तर, गतवर्ष ६ जनाको मृत्यु भएकोमा यसवर्ष मृत्यु हुनेको संख्या ७ पुगेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

त्यस्तै गतवर्ष दशैंमा ६२ जना घाइते भएका थिए भने यसवर्ष ३० जना घाइते भएका छन् । गतवर्षको तुलनामा सवारी साधनमाथिको कार्वाही, मादक पदार्थ सेवन कार्वाही पनि घटेको छ । गतवर्ष १ हजार ४९९ सवारीमाथि कार्वाही र ६७ जनालाई मादक पदार्थ सेवनको कार्वाही गरिएको थियो ।

 

यसवर्ष १ हजार १४६ सवारीमाथि कार्वाही र ५७ जनालाई मादक पदार्थ सेवनको कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनका अनुसार गतवर्ष दशैंमा १० लाख २ हजार रुपैयाँ राजश्व असुली भएकोमा यसवर्षको दशैंमा ७ लाख ५४ हजार रुपैयाँ राजश्व उठेको छ ।

 

ट्राफिक प्रहरीको पहुँचभन्दा टाढा ग्रामीण क्षेत्रमा यसवर्ष ६० प्रतिशतभन्दा बढी दुर्घटना भएको उनको भनाइ छ । खुदुनाबारी, बाह्रदशी, गौरीगञ्जलगायतका भित्री सडकमा भएका दुर्घटनाका कारण मृत्युदर बढेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

 

झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २० वटा ट्राफिक पोष्टहरु रहेका छन् । त्यसमा प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्म कार्यरत छन् । चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार दशैंमा सबै जनशक्ति परिचालन गरिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।