अर्थ बजार

इलामको घिउ र चीज बिक्री नहुँदा व्यवसायी चिन्तामा

By admin

October 31, 2023

इलाम । चाडपर्वको समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु चिन्तामा परेका छन् । ६ महिनायता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि सोचेजस्तो नौनी घिउ र चीजको माग नै नआउँदा समस्या भएको बताएका छन् ।

 

जिल्लामा अहिले डेढ सयभन्दा बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरी घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका थिए । प्रायः डेरीमा कम्तिमा पाँच हजार किलोदेखि १८ हजार किलो नौंनी घिउ र चीजको अहिले ‘स्टक’ रहेको दुग्ध व्यवसायी संघले जनाएको छ ।

 

संघका अध्यक्ष जगत महतले वैशाख महिनायता घिउ र चीज बिक्री हुनै नसकेको बताए । ‘छिमेकी मुलुक भारतबाट सस्तो मुल्यमा दूध र घिउ आयात भइरहेको खबर छ, त्यही कारणले पनि नेपाली उत्पादन स्टोरमै राख्नुपर्ने अवस्था आएको हुनसक्छ’, अध्यक्ष महतले भने, ‘नौनी घिउ धेरैमा चार महिना मात्र राख्न सकिन्छ । त्यस अवधिमा पनि बिक्री भएन भने नस्ट गर्नुपर्छ ।’

 

दश वर्षयता दुग्ध परिकारको व्यवसाय गर्दै आएका इलाम नगरपालिकास्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री पनि आफ्नो डेरीमा करिब चार हजार किलो घिउ स्टक रहेको बताउँछन् । उपभोक्ताबाट माग नआएको खत्रीको भनाइ छ ।

 

गत वर्षसम्म नेपाली बजारमै खपत भइरहेको चीजसमेत यो वर्ष बिक्री हुन नसकेको नेपाल डेरी एसोसिएसन इलामका अध्यक्ष लक्ष्मी थापाले बताए । थापाले भने । व्यवसायीहरुले घिउ प्रतिकिलो ७ सयदेखि ८ सय रुपियाँसम्म बिक्री गरिरहेका छन् ।