खेलकुद

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

By admin

October 31, 2023

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।

 

जितको लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।

 

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए ।

 

दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए ।

 

रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।

 

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन ।

 

तर, मलेसियाको सुरुवात भने नेपालविरुद्ध ड्रिम थियो । ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

 

अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए । जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । त्यसपछि नेपाल खेलमा फर्किएको थियो ।

 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।