बिर्तांमोड । झापा बिर्तामोडको एक शिक्षण संस्थामा निर्माण गरिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न पूवराजा ज्ञानेन्द्र शाह आउने भएका छन् ।
बिर्तामोड १ स्थित देवी पञ्चकन्यामा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम कलेज) ले पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न पूर्वराजा शाहलाई ल्याउन लागेको आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कलेजले निर्माण गरेको शालिकको आगामी मंसिर ९ गते शनिबार पूर्वराजा शाहले अनावरण गर्ने तय गरिएको कलेजका संस्थापक आलोक कार्कीले बताए । उनका अनुसार कलेजले पूर्वराजा शाहको सचिवालयमा सम्पर्क गरेर समय माग गरेको हो । सालिककाे उचाइ ५ फिट रहेकाे छ ।
सोही अवसरमा ८ वर्ष अघिदेखि सञ्चालित कलेजको समेत उद्घाटन गरिने भएको छ । शाहको योगदानको बृहत्तर सम्मान गर्दै इकम कलेज परिसरमा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरिएको उनको भनाइ छ ।
राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक नेपाल निमाण गर्ने राष्ट्र निर्माताको ऐतिहासिक योगदानको सर्वत्र कदर गर्दै समयको मागअनुसार निर्माण गरिएको सञ्चालक कार्कीले दाबी गरेका छन् ।
राजसंस्थासँग जोडेर नभई राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको प्रतिकका रूपमा सम्मान गर्दै शालिक निर्माण गरिएको उनको स्पष्टयोक्ति थियो । इतिहास र राष्ट्र प्रेम विद्यार्थीलाई जागृत गर्ने उद्देश्यले पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको उनले बताए ।
पूर्व राजा पृथ्वीनारायण शाहकै वंशज पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनकै हातबाट शालिक अनावरण गर्न लागिएको बताइएको छ । राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा कलेजका अर्का सञ्चालक निर्मल निरौलालगायतको उपस्थिति रहेको थियो । इकम कलेजले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउँदै आएको सञ्चालक कार्कीले जानकारी दिए ।