खेलकुद

झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन

By admin

December 01, 2023

बिर्तामोड । झापाका पुराना एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ । कोशी प्रदेशका सदस्य तथा झापा रेफ्रीका पूर्व बरिष्ठ उपाध्यक्ष ढुंगानाको आज निधन भएको हो ।

 

उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।

 

झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । उनी झापा बुधबारे निवासी हुन् । उनले नेपाल र भारतका सयौँ फुटबल प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

उनी शुक्रबार उपचारका लागि हस्पिटलमा भर्ना भएका थिए । आइसीयुमा उपचारका क्रममा आज निधन भएको झापा रेफ्रीका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

 

अध्यक्ष दनुवारका अनुसार दिवंगत ढुंगानाको भोलि (शनिबार) हडिया खोलाको चिलिम घाटमा अन्त्येष्टि गरिने भएको छ । अब ढुंगानाको सिटी बज्ने छैन भने फुटबल मैदानमा पहेँलो र रातो कार्ड पनि देखिने छैन ।