खेलकुद

अर्जुनधारा समूह विजेता बन्दै झापा लिगको क्वाटरफाइनलमा

By admin

December 04, 2023

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।

 

दमक नगरपालिकालाई २-० गोलअन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो । यस्तै, शिवसताक्षी र कमलका बीचमा भए पनि कमल गाउँपालिका कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक र ३ गोल प्राप्त गर्यो ।

 

समूह घ मा रहेको शिवसताक्षी र अर्जुनधाराको समान ७ अंक र बराबर गोलअन्तर भए पनि पहेँलो कार्ड प्राप्त गरेको आधारमा अर्जुनधारा समूह विजेता बन्यो । लिग चरणका खेलहरुमा अर्जुनधाराले एउटा र शिवसताक्षीले दुईवटा पहेँलो कार्ड पाएको थियो ।

 

समूह विजेता बनेको अर्जुनधाराले खेलको ६४औँ मिनेटमा राजेश दाहाल र ७३औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच भएका अर्जुनधारका बादल तामाङले नगद दुई हजार र ट्रफी पाए । प्लेयर अफ द म्याचको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीलगायतले प्रदान गरेका थिए ।

 

फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ । यस खेलसँगै लिग चरणमा खेलहरु सकिएका छन् । नकआउट चरणका खेलहरु क्वाटरफाइनलबाट सुरु हुनेछन् । क्वाटरफाइनलका खेल मंसिर १९ र २० गते हुनेछन् ।

 

पहिलो क्वाटरफाइनल खेल बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

 

सेमिफाइनलका खेल मंसिर २२ गते हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।