भद्रपुर । बबिन बोहोराको ४ गोलको मद्दतमा बुद्धशान्ति गाउँपालिका प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । शिवसताक्षीलाई ४-० गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत ८ गोल भएको छ ।
खेलको ११औँ, ४१औँ, ६६औँ र ७९औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।
त्यस्तै, आजको दोस्रो क्वाटरफाइनल खेलमा झापा गाउँपालिका विजयी भएको छ । झापाले भद्रपुर नगरपालिकालाई १-० गोलअन्तरले हराएको हो । खेलको ७१औँ मिनेटमा झापा गाउँपालिकाका किरण उरावले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ दि म्याच झापा गाउँपालिकाका उमेश मुर्मू भए । उनले नगद दुई हजार र ट्रफी पाए ।
जितसँगै झापाले फाइनल प्रवेशका लागि बुद्धशान्तिको सामना गर्नेछ । खेल मंसिर २२ गते हुनेछ । भोलि अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाले भिड्नेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।