खेलकुद

झापा लिगः अर्जुनधारा र मेचीनगर सेमिफाइनलमा

By admin

December 06, 2023

भद्रपुर । बिर्तामोड नगरपालिकाविरुद्ध अर्जुनधारा नगरपालिकाले जित दर्ता गर्दै यहाँ जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आज भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि दबाब राख्दै फराकिलो जित दर्ता गरेको हो । खेलको अधिकांश समय अर्जुनधाराले गोल नियन्त्रणमा राखेको थियो । अर्जुनधाराले बिर्तामोडलाई ५-० गोलअन्तरले हराएको हो ।

 

खेलको १९औँ र २८औँ मिनेटमा निखिल तामाङले गोल गरे । त्यस्तै, ४२औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७औँ मिनेटमा राजेश दाहाल र ७४औँ मिनेटमा प्रतिक कन्दङवाले गरेका थिए ।

 

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

 

त्यस्तै, आजको अन्तिम क्वाटरफाइनल खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । जितसँगै मेचीनगर पनि सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले अर्जुनधाराको सामना गर्नेछ ।

 

मेचीनगरले गौरादह नगरपालिकालाई २-१ गोलअन्तरले हराएको हो । खेलको ३८औँ मिनेटमा मेचीनगरका अजय राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ६५औँ मिनेटमा गौरादहका पासाङ लामाले गोल गरे ।

 

खेलको ७३औँ मिनेटमा मेचीनगरका लागि अजय राजवंशीले अर्को गोल थपेपछि मेचीनगरको सेमिफाइनल यात्रा टुंगो लागेको थियो । खेलको प्लेयर अफ दि म्याच मेचीनगरका अजय राजवंशी भए । उनले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

 

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।