समाज

प्रहरीलाई घुस दिन खोज्ने अर्जुनधाराका २ जना पक्राउ

By admin

December 09, 2023

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बाँसबारीबाट कागजपत्र नभएको काठ प्रहरीले नियन्त्रण गर्न खोज्दा घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

 

प्रहरीलाई ९५ हजार रुपैयाँ घुस दिन खोज्दा उक्त नगद र ट्याक्टरसहित शनिबार (आज) बिहान ५ः५० बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा अर्जुनधारा ३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही स्थानका ३८ वर्षीयय रोहित घतानी रहेका छन् । बाँसबारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याकटरलाई गोप्य सुचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी नायव निरीक्षक कुमार खड्काको टोलीले नियन्त्रणमा लिएको थियो ।

 

रोकी राखेको ट्याक्टर चेकजाँच गर्दा माटोले छोपेर ल्याउदै गरेको चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त काठको मूल्य अन्दाजी २ लाख ७० हजार रुपैयाँ भएको जनाइएको छ ।

 

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोड झापामा ल्याएर थप अनुसन्धान भइरहेको र उनीहरुलाई डिभिजन वन कार्यालय भद्रपुरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।