समाज

इलाम अस्पतालको क्वाटरमा आगलागी, एक प्रहरी घाइते

By admin

December 13, 2023

इलाम । इलाम अस्पताल नजिकैको अस्पतालको क्वाटरमा आगलागी हुँदा एक जना प्रहरी घाइते भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयभन्दा उत्तरपट्टि रहेको इलाम अस्पतालको क्वाटरमा आगलागी भएको हो ।

 

भान्सा घरमा कोही नभएको अवस्थामा हिजो दिउँसो दुई बजेतिर धुवाँ निस्किएको देखेपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको थियो । स्वास्थ्य कार्यालय इलामका विमल बरालले ताला लगाएको घरको ढोका खोल्न नसक्दा सामान निकाल्न नसकिएको बताए ।

 

आगलागी सुरु भएलगतै इलाम नगरपालिकाको दमकललाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा दमकल घटनास्थलमा ढिलो पुगेको थियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहे पनि ग्याँस सिलिन्डर पड्किएका कारण आगो झन् दन्किएको थियो ।

 

बाटो साँघुरो भएका कारण दमकल पुग्न केही ढिलो हुँदा टिन र काठको घर जलेर नष्ट भइसकेको थियो । तर, अन्य घरमा आगो फैलनबाट जोगिएको छ । आगो नियन्त्रणका क्रममा एक जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

 

नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई अस्पतालको इमरजेन्सी कक्षमा सारिएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।