राजनीति

जनजाति महासंघ झापाका अध्यक्ष चौधरी पक्राउ

By admin

December 13, 2023

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई घरबाटै पक्राउ गरिएको हो ।

 

अर्जुनधारा ८ स्थित चौधरीको घरबाटै मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि हिजो दिउँसो दमकमा पहिचान पक्षधरहरूको समूहले ढुङ्गा प्रहार गरेको थियो ।

 

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए ।

 

यसैबीच, आफ्नो घरको गेट र ढोका फुटाएर आफूलाई पक्राउ गरेको चौधरीले बताएका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

मुख्यमन्त्रीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिने बित्तिकै सगरमाथा पेट्रोल पम्पअगाडि कालो झन्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ ।