समाज

झापामा कठांग्रिएर एक महिलाको मृत्यु

By admin

December 19, 2023

झापा । पुसको जाडोमा कठांग्रिएर झापामा एक जना महिलाको मृत्यु भएको छ । बेवारिसे अवस्थामा तीन दिनदेखि मेचीनगरको धाइजन आसपास सडकमै डुलिरहेकी एक जना महिलाको मृत्यु भएको हो ।

 

मेचीनगर १० स्थित धाइजन ढाटमा बस्दै आएकी बेवारिसे महिलाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिसोले गर्दा बेहोश भएकी उनको सोही कारणले मृत्यु भएको हो ।

 

स्थानीयका अनुसार मागेर खाइरहेकी अन्दाजी ३० वर्षीया ती महिला तीन दिनदेखि धाइजन ढाटमा चिसोमा डुलिरहेकी थिइन् । सोमबार अपराह्न पूर्वपश्चिम राजमार्गछेउमा उनी कठांग्रिएर बेहोश भएकी थिइन् । मेचीनगर १० का वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग लिएर महिलाको उद्धार गरेर प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए ।

 

ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । मृतक महिलाको आफन्त सम्पर्कमा आएका छैेनन् । उनको नाम र ठेगाना पनि खुलेको छैन । धाइजन ढाटका स्थानीयले बोलीचालीका आधारमा उनी नेपाली नै भएको बताएका छन् ।