शिक्षा

चासोक तङ्नाममा हाजिरीजवाफः न्यू होप प्रथम

By admin

December 24, 2023

शनिश्चरे । चासोक तङनाम (उधौली पर्व)को अवसरमा अर्जुनधारा १ मदनपुरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा अर्जुनधारा ३ को न्यू होप अङ्ग्रेजी आवासीय विद्यालय प्रथम भएको छ ।

 

संस्थागत र सामुदायिक गरी जम्मा १० वटा विद्यालयको सहभागिता रहेको आधारभूत तह अन्तरविद्यालय प्रतियोगितामा अर्जुनधारा १ को सिंहदेवी माध्यमिक विद्यालय र गणेश आधारभूत विद्यालय द्धितीय र तृतीय भए ।

 

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई पुस १० गते उधौली पर्वको समापन समारोहमा नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक मोहन सुब्बाले जानकारी दिए ।

 

चासोक तङ्नाम आयोजक समितिका अध्यक्ष राजेश जवेगु लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले उद्घाटन गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने उक्त पर्वमा सोमबार भेट्रान्स फुटबल प्रतियोगिता र मंगलबार वृहत सांगीतिक कार्यक्रम रहेको समितिका अध्यक्ष लिम्बूले जानकारी दिए ।

 

कार्यक्रममा वडाध्यक्षद्वय उपेन्द्र बस्नेत र सीताराम भट्टराई, नगर सभा सदस्य चन्द्रमाया तामाङ, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, नेपाल तामाङ घेदुङ संघ अर्जुनधाराका अध्यक्ष वृखबहादुर गोले, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, मदनपुर युवा क्लबका अध्यक्ष देबेन्द्र सेन्दाङ, सामाजिक व्यक्तित्व रुद्र फागोलगायतको आतिथ्यता रहेको थियो ।

 

संयोजक सुब्बाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य वीजेन्द्रकुमार एक्तेनले गरेका थिए । यसैबीच सोही पर्वको अवसरमा सेवासाँवाहरु (पूजारी)बाट स्थानीय टाङटिङ खोला किनारमा पूजाअर्चनाको कार्यक्रम सम्पन्न भएको सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।