खेलकुद

शनिश्चरे एफसी फिदिम नगर कपको सेमिफाइनलमा

By admin

December 30, 2023

रानीटार (पाँचथर) । झापा अर्जुनधाराको शनिश्चरे एफसी यहाँ जारी पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

फिदिम ७ स्थित रानीटारको बराजु खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइन्ल खेलमा इलाम साखेजुङका योङ ब्वाइजलाई २-० गोलले पराजित गर्दै शनिश्चरेले सेमिफाइनलमा स्थान बनाएको हो ।

 

प्रतिस्पर्धात्मक खेलमा शनिश्चरेका लागि दुवै गोल प्रदिप बुढाथोकीले गरेका हुन् । पहिलो हाफको १२औँ मिनेटमा सौरभ सुब्बाको पासमा प्रदिप बुढाथोकीले गोल गरेर अग्रता दिलाएका थिए ।

 

दोस्रो हाफमा केही सम्हालिएर खेलेको इलामले करिब १० मिनेट शनिश्चरेलाई दबाबमा राखेको थियो । तर, दोस्रो हाफको २०औँ मिनेटमा फेरि प्रदिप बुढाथोकीले नै गोल गरेर अग्रता दोब्बर बनाए ।

 

सौरभ सुब्बाले दायाँ साइडमा श्याम मुर्मूलाई मिलाइदिएको पासबाट प्रदिपले फेरि पास पाउँदा शनिश्चरेका लागि गोलमा परिणत भएको थियो । प्रदिपले ह्याट्रिक गर्ने अवसर गुमाएका थिए ।

 

ऋब झापाको तुर्केनी एफसी झापाले पाँचथरको एलएनएफसीसँग सोमबार तेस्रो क्वाटरफाइनल खेले खेल्नेछ । स्वतन्त्र क्लब फिदिम ७ को आयोजनामा भइरहेको यस प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार र ट्रफी पाउने छ ।