खेलकुद

फिदिम नगरकपको फाइनलमा पाँचथरले झापाको शनिश्चरेसँग भिड्ने

By admin

January 02, 2024

रानीटार (पाँचथर) । पाँचथर फुटबल क्लबले झापाको शनिश्चरे एफसीसँग यहाँ जारी पाँचौ फिदिम नगर कपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

 

आज भएको अन्तिम सेमिफाइनल खेलमा झापाकै तुर्केनी एफसी काँकरभिट्टालाई ५-३ गोलअन्तरले पराजित गरेपछि पाँचथरले शनिश्चरे एफसीसँग भेट पक्का गरेको हो ।

 

पाँचथरका लागि शुकराज राईले खेलको ३ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मनिष क्षेत्रीले २०औँ मिनेटमा गोल गर्दै पाँचथरको अग्रता दोब्बर बनाएका हुन् ।

 

यस्तै प्रविण जबेगु, साजन राई र लोकेन्द्र थापाले पाँचथरका लागि थप गोल गरेर उपाधि नजिक पुराएका हुन् । झापाका लागि भने नवराज गुरुङले व्यक्तिगत २ गोल गरे भने सुरज लिम्बूले गोल फर्काए पनि हार टार्न भने सकेनन् ।

 

स्वतन्त्र फुटबल क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ ला ८० हजार पाउने छ । भोलि बुधबार फाइनल खेल हुनेछ ।