समाज

झापाको कचनकवलमा हात्ती धपाउन रातभर जाग्राम

By admin

January 09, 2024

झापा । दैनिकजसो जंगली हात्तीको उपद्रव सहँदै आएको दक्षिणी गाउँपालिकाका कचनकवलका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

 

नजिकैको जंगलबाट आहाराको खोजीमा गाउँ पस्ने जंगली हात्तीको आक्रमण र सम्भावित क्षति रोक्न स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका हुन् । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार हात्तीले एक महिना अघिदेखि दुःख दिँदै आएको छ । उक्त हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गर्छन् ।

 

यसैबीच, सोमबार राति कचनकवल ३ पाठामारीमा दुई वटा हात्तीले स्थानीय विष्णु गुरुङको दुई वटा घर भत्काएको छ । गुरुङको घरमा राखिएको धान तथा अन्नपात खाएर र छरेर पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरी टोली आज बिहान क्षतिको विवरण सङ्कलन गर्न पुगेका थिए । हात्तीका कारण कचनकवलबासी पनि आतङ्कित बनेका छन् । ूदिनभर जलथलको चारकोशे झाडीमा हात्ती बस्ने र रातको समयमा बस्तीमा आउने गरेको छ ।