काठमाडौँ । बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतले जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित आठ वर्षको जेल सजाय तोकेको छ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले गएको पुस १३ गते लामिछाने बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो। बुधबार ढकालकै इजलासले लामिछानेलाई सजाय तोकेको हो। त्यस दिन उनलाई दोषी ठहर गरे पनि लामिछानेलाई सजाय तोक्नका निम्ति भने बुधबार पेसी तोकिएको थियो।
अदालतका स्रेस्तेदार रामु शर्माले भने, ‘आठ वर्ष कैद र पीडितलाई क्षतिपूर्ति एवं जरिवानासहित फैसला भएको छ।’ अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले दिएको जानकारीअनुसार लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय पनि भएको छ।
उनले तिर्नुपर्ने तीन लाख रुपैयाँ जरिवाना र थप क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ गरी पीडितले कुल पाँच लाख रुपैयाँ पाउने पन्थीले जानकारी दिए। लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेका थियो। तर, ढकालको इजलासले लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर ‘१८ वर्ष पूरा भएको’ ठहर गरेको थियो।
लामिछानेले माथिल्लो अदालतमा जिल्ला अदालतको फैसलालाई चुनौती दिन पाउने छन्। अदालतका स्रेस्तेदार रामु शर्माले फैसला भएको दिन भनेका थिए, ‘पीडितको उमेर १८ वर्ष पूरा भएको देखियो, तर भएको करणी सहमतिमा भएको देखिएन।’
पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको विभिन्न निकायबाट प्राप्त सरकारी कागजपत्रबाट देखिएको अदालतको ठहर छ। तर, उनको ‘नाजुक आर्थिक अवस्थाको फाइदा उठाइएको’ अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।
त्यस बेला फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नलाई छुट्टै पेसी तोक्न भनिएको स्रेस्तेदार शर्माले बताएका थिए।
‘तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने अवस्थामा कसुर ठहर गरिदिएर सजाय कति तोक्ने भन्ने कुरा छुट्टै पेसीमा तोकेर दुवै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था भएकाले त्यसो गरिएको हो’, उनले भनेका थिए।
उक्त मुद्दामा पुस ८ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो र १३ गते फैसला भएको हो। पुस १३ गते लामिछाने पक्षका वकिलहरूको बहस सकिएपछि वादी पक्ष (परिवर्तित नाम) गौशाला २६ (छ) का वकिल र सरकारी वकिलले पनि जवाफी बहस सकेका थिए। त्यसपछि अदालतले फैसला गरेको थियो। श्रोतः बीबीसी नेपाली सेवा