फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । सासु र छिमेकी घाइते भएका छन् ।
मिक्लाजुङ गाउँपालिका ३ स्थित आरुबोटेकी ३५ वर्षीया गोमा फियाकको ज्यान गएको हो । उनलाई तुम्बेवा ४ मा रहेको घरबाट मिक्लाजुङ ३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुमित कुशवाहले जानकारी दिए ।
खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि झापाको दमक पठाइएको वडाध्यक्ष जीवनहाङ फियाकले बताए ।
माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए । श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको खुकुरी घरको जुठेल्नो नजिकै भेटिएको कुुसुवाले जानकारी दिए ।