समाज

माइधार दुर्घटनामा दमकका अनुप ढकालको मृत्यु

By admin

January 14, 2024

झापा । शनिबार (हिजो) साँझ झापाको माइधारमा भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । मोटरसाइकलमा सवार मृतक झापा दमक ९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै घाइते हुनेमा मोरङ उर्लाबारी १ बस्ने अन्दाजी २१ वर्षीय प्रदिप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार व्यक्तिको हिजोसम्म यकिन हुन बाँकी रहेको थियो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार हिजो साँझ ६ बजेको समयमा झापा शिवसताक्षी सैनिक चौकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको बा १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल जुधेका थिए ।

 

कारमा पाँच जना सवार रहेकोमा दुर्घटनामा परी चार जना घाइते भएका छन् । कार चालक बिर्तामोड ३ बस्ने ५० वर्षीय अनिलकुमार शाह, बिर्तामोड ४ बस्ने ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड ३ बस्ने ४४ वर्षीय रञ्जन शाह, बिर्तामोड ३ बस्ने ५३ वर्षीय ललित शाह घाइते छन् ।