समाज

किरात समुदायले आज नयाँ वर्ष मनाउँदै

By admin

January 15, 2024

पाँचथर । माघ १ गते किरात येले संवत्‌को नयाँ वर्ष हो । किरात समुदायका लिम्बू, राई, याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउँदै छन् । यो समुदायको नयाँ वर्ष माघे संक्रान्तिकै दिन सुरु हुन्छ ।

 

माघे संक्रान्तिसँगै किराती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बू समुदायले किरात नयाँ वर्ष धुमधाम साथ मनाउछन् । किराती पात्रोअनुसार यो वर्षको माघ १ गतेदेखि किरात सम्वत ५०८४ सुरु भएको छ ।

 

विविधताको पर्व मकर संक्रान्ति अर्थात् माघी पर्वसँगै किरात नयाँ वर्ष सुरु हुन्छ । किरात नयाँ वर्षलाई लिम्बू समुदायले कुसङ यले तङबे र राई समुदायले यले दोङ भनेर मनाउँछन् । यस्तै याक्खा र सुनुवार समुदायका सदस्यले पनि माघ १ गतेलाई नै नयाँ वर्ष सुरु भएको भन्दै पर्व मनाँउछन् ।

 

किरात संवत नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो छ । यले तङ्गवे संवत् किराती राजा यलम्बरले शासन सुरु गरेपछि मनाउन थालिएको किम्बदन्ती रहेको इतिहास खोज तथा अन्वेषक लक्ष्मण लावती बताउँछन् ।

 

यो सिजनमा संक्रान्तिदेखि उच्च पहाडी क्षेत्रमा पाइने चाँप प्रजातिको फूल फूल्न सुरु हुन्छ । त्यसैले लिम्बू समुदायले माघे संक्रान्तिलाई कक्फेःवा तङनाम भनेर भन्ने चलन पनि ।

 

लिम्बू भाषामा कक् भनेको चाँप, फेःवा भनेको फूल्ने र तङनाम भनेको मौसम अर्थात् कक्फेवा तङनाम भनेको चाँप फूल्ने मौसम हो । यो पर्वमा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल पोलेर सदस्यलाई टीका लगाउँदै आशिर्वाद दिने चलन रहेको लावती बताउँछन् ।

 

मकर संक्रान्तिकै दिन किरातहरूको बाहुल्यता रहेको पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटालगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

 

किरात लिम्बूहरूको सघन बसोबास रहेका काठमाडौं, ललितपुरसँगै हङकङ र सिंगापुरसम्म यो पर्व मनाउन थालिएको छ । लिम्बूहरुले यले तङवे भनेझैं यो पर्वलाई मगरले माघ्या, राईले यले दोङ, थारुले माघी र हिन्दूहरूले मकर संक्रान्तिका रुपमा मान्दछन् । इकान्तिपुरबाट