ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जारी गरेको प्रेस नोटअनुसार पुस महिनामा कुल ३५ लाख २९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पुस महिनामा भक्तजनले पाथीभरा देवीको नाममा चढाएका र दान गरेको भेटी रकम सङ्कलन गरिएको प्रेस नोटमा उल्लेख छ ।
पाथीभराको भेटीबापत सङ्कलित सो रकम जिल्लास्थित नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । अब पुस महिनाको समेत गरी पाथीभरामा सङ्कलन भएको कुल भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५४८ रुपियाँ भएको छ । यसअघि मङ्सिर मसान्तसम्ममा आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ समितिको खातामा मौज्दात रहेको थियो ।
समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा आएपछि हाङ्बाङले मासिक रूपमा भेटी रकम सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार उनले पुस महिनामा सङ्कलन भएको भेटी रकम आइतबार साँझ नै प्रेस नोट जारी गर्दै सार्वजनिक गरेका हुन् ।
पाथीभरामा भेटीबापत नेपालको मात्र नभई भारतसहित दर्जनौँ विभिन्न देशका मुद्रा अर्थात् रकम सङ्कलन हुँदैआएको समितिले जनाएको छ । गोरखापत्रबाट