खेलकुद

अर्जुनधाराः स्मृति कपमा लक्ष्मी माविको विजयी सुरुवात

By admin

January 16, 2024

शनिश्चरे । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व. कृष्णप्रसाद स्मृति फुटबल प्रतियोगितामा अर्जुनधारा ८ काे लक्ष्मी माविले विजयी सुरुवात गरेको छ ।

 

माविस्तरीय प्रतियोगिताको उद्घाटन खेलमा आयोजक महारानीगञ्ज माविविरुद्ध लक्ष्मी माविले ४-० गोलअन्तरमा पराजित गर्दै शानदार विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान सुरुवात गरेको हो ।

 

लक्ष्मी माविका लागि प्रकाश रसाइलीले खेलको १५औँ मिनेटमा गोल गरेका थिए भने पवन कुलुङ राईले २५औँ मिनेटमा अग्रता दोब्बर बनाएका हुन् ।

 

खेलको ३७औँ मिनेटमा सन्तोस मुसहरले आकर्षक गोल गरे भने ५८औँ मिनेटमा मञ्जित राईले थप गोल गर्दै लक्ष्मी माविलाई अन्तिम चारमा स्थान सुरक्षित गराउन सफल भए ।

 

खेलको म्यान अफ दी म्याच पवन राई भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाले नगद प्रदान गरे ।

 

विद्यालयका वार्षिकोत्सव तथा फुटबल प्रतियोगिताको उद्घाटन संघीय उपसभामुख इन्दिरा रानामगरले गरेकी थिइन् । प्रतियोगितामा मंगलबार अर्जुनधारा ८ काे शनिश्चरे मावि र अर्जुनधारा १ काे सिंहदेवी माविबीच खेल हुनेछ । फाइनल खेल माघ १५ गते हुनेछ ।

 

सालबारी निवासी अरुणकुमार डाँगीले प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद २० हजार र ट्रफी पाउने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार उपविजेताले नगद १० हजारमा चित्त बुझाउनु पर्नेछ ।

 

विद्यालयका शिक्षक मणिलाल खड्काले सञ्चालन गरेको कार्यक्रममा उपसभामुख मगर, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, स्व. डाँगीका भाइ खगेन्द्र डाँगी, निवर्तमान वडाध्यक्ष भैरबहादुर खड्का, निवर्तमान विव्यस अध्यक्ष रोहित ढकाललगायतले आफ्ना भनाइ राखेका थिए ।