जौबारी (इलाम) । इलामको उच्च पहाडी पर्यटकीयस्थलहरुमा हिमपात भएको छ । सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका १ स्थित पर्यटकीय क्षेत्रमा हिमपात भएको हो ।
कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर लगायत उत्तरी पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएको जौबारीका होमस्टे व्यवसायी लक्की सेर्पाले बताइन् । वर्षातपछि हिमपात हुँदै आएपछि एक्कासी हिमपात भएको उनको भनाइ छ । बिहान ११ बजेबाट शुरु भएको हिमपात दिनभर भएको थियो ।
सूर्योदय नगरपालिका १ को मानेभञ्ज्याङ्गदेखि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर र तीन सिमाना फालुटसम्म हिमपात भएको पर्यटन व्यवसायी प्रमोद नेपालले बताए । हिमपात भएपछि हिउँ खेल्न स्थानीयहरु आउन थालेका थिए ।
पर्यटकीय क्षेत्र चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ्ग, टङ्लु, जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, चौरीचौक, सन्दकपुर र फालुट क्षेत्र पर्यटकीय गन्तव्य हुन् । यी पर्यटकीय क्षेत्रमा दैनिक नेपाल र भारत भएर २ हजारभन्दा बढी पर्यटकहरु भ्रमणका लागि आउने गरेका छन् ।