खेलकुद

झापाका श्याम दनुवारले पाए फिफा रेफ्री ब्याज

By admin

January 18, 2024

बिर्तामोड । सन् २०२४ का लागि फिफा रेफ्री सूचीमा परेका झापा अर्जुनधाराका श्याम दनुवारले फिफा रेफ्री ब्याज प्राप्त गरेका छन् । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापाका दनुवारलाई एक कार्यक्रमका बीच फिफा रेफ्रीको ब्याज प्रदान गरेको हो ।

 

झापा जिल्लाबाट फिफा रेफ्री बन्ने उनी पहिलो व्यक्ति हुन् । यसअघि मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका थिए । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री रहँदै आएका थिए ।

 

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्षसमेत रहेका दनुवार परेका थिए । अर्जुनधारा ६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए ।

 

चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् । झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरु अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।