खेलकुद

यु-१८ फुटबलः अर्जुनधारा ३ र ११ विजयी

By admin

February 03, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा जारी दोस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा शनिबारको खेलबाट अर्जुनधारा ३ र ११ नम्बर वडा विजयी भएका छन् ।

 

अर्जुनधारा रंगशालामा आयोजित पहिलो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई टाइब्रेकरमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

 

खेलको ३०औँ मिनेटमा अर्जुनधारा ३ का प्रतिक कन्दङ्वाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम समयमा अर्जुनधारा १ का गनेश गजमेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।

 

खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा अर्जुनधारा ३ ले १ नम्बर वडालाई ४-२ गोलअन्तरमा पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच अर्जुनधारा ३ का गोलकिपर सौरभ विक भए । उनलाई रेफ्री संघका प्रदेश महासचिव प्रदिप बस्नेतले नगद प्रदान गरे ।

 

यसैगरी, दोस्रो खेलमा जित गर्दै अर्जुनधारा ११ ले दोस्रो चरणमा स्थान बनाएको छ । अर्जुनधारा ११ ले स्पर्धी अर्जुनधारा ६ लाई १-० गोलअन्तरले पराजित गरेको हो ।

 

अर्जुनधारा ११ का लागि सलिन लिम्बूले ११औँ मिनेटमा निर्णायक गोल गरे । उसका लागि सुसन खवास म्यान अफ दी म्याच बने । उनलाई झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष भुपेन लिम्बूले नगद प्रदान गरे ।

 

यसैबीच, संघका कोषाध्यक्ष लिम्बू र रेफ्री सन्तोष दनुवारले आयोजक शनिश्चरे एफसीलाई कर्नर फ्ल्याग र चेन्जिङ बोर्ड हस्तान्तरण गरेका छन् ।

 

युवाहरुलाई लागुऔषधबाट टाढा राख्दै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ अर्जुनधारा ७ र ८ को सहयोगमा आयोजित प्रतियोगितामा भोलि (आइतबार) अर्जुनधारा ७ ले १० सँग र अर्जुनधारा ८ ले २ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ ।

 

अर्जुनधारा नगरपालिकाका ११ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजार र ट्रफी पाउने छ ।