खेलकुद

अर्जुनधारा ८ लाई यु १८ वडास्तरीय फुटबलको उपाधि

By admin

February 09, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित दोस्रो यु १८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा ८ ले जितेको छ । अर्जुनधारा ७ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा ८ नम्बर वडाले ३ नम्बर वडालाई २-० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

 

विजेता टिमका लागि खेलको १२औं मिनेटमा भुपेन अधिकारी र २७औं मिनेटमा निखिल तामाङले गोल गरेका थिए । जितसँगै विजेता टिमले नगद ५० हजारसहित ट्रफी र उपविजेता ३ नम्बर वडाले ३० हजारमा चित्त बुझायो ।

 

फाइनल खेलको म्यान अफ दी टुर्नामेन्ट अर्जुनधारा ८ का निखिल तामाङ भए । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे । फाइनल खेलको म्यान अफ दी म्याच अर्जुनधारा ८ कै निश्चल भण्डारी, बेष्ट गोलकिपर करण भुजेल भए ।

 

यसैगरी, बेष्ट डिफेन्स सायाल खड्का अर्जुनधारा–३, बेष्ट कोच अर्जुनधारा ८ का सुमन ठकुरी र सर्वाधिक गोलकर्ता अर्जुनधारा ३ का प्रतिक कन्दङवा भए । उनीहरुले जनही नगद २ हजार ५ सय र ट्रफी पाए । फेयर प्ले टिम अर्जुनधारा ७ बन्यो ।

 

त्यस्तै गतवर्ष २०७९को यु १८ अनुशासित खेलाडीतर्फ अर्जुनधारा १ का सविन योङहाङलाई नगदद्वारा पुरस्कृत गरिएको थियो । क्लबका सचिव हरि गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय कुमारप्रसाद उप्रेती र सीताराम भट्टराई, वडा सदस्य भीम राई, क्लबका सल्लाहकार टेकराज तिलिङ, युवा व्यवसायी सुरेन धिमाललगायतले पुरस्कार वितरण गरेका थिए ।

 

सोही कार्यक्रममा झापा जिल्ला फुटबल संघको तर्फबाट क्लबलाई चार थान फुटबल प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रदिप तामाङ र दिपिका लोहारले संयुक्तरुपमा गरेका थिए ।