समाज

पेन्टीमा ब्राउनसुगर बोक्ने धरानका २ जना पक्राउ

By admin

February 25, 2024

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर पेन्टीभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा झापाको मेची पुलबाट धरानका दुई युवा पक्राउ परेका छन् ।

 

शनिबार साँझ करिब ६ बजेतिर मेचीनगर ६ स्थित मेचीपुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट प्रहरी सहायक निरीक्षक दुर्गा खनाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी हवल्दार सदानन्द मेहताको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान ५ बस्ने २४ वर्षीय थामबहादुर बिक र अर्जुन बिकलाई पक्राउ गरेको हो ।

 

थामबहादुरलाई शंका लागि तलासी लिँदा पेन्टीभित्र अगाडिको भागमा लुकाईछिपाई राखेको लागुऔषध ८ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनीसँगै रहेका अर्जुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।