शनिश्चरे । अर्जुनधारा नगरपालिकामा ७० दिने लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा बिर्तामोडको नोभा फाउण्डेसनको सहजीकरणमा तयारी कक्षा सुरु भएको हो ।
लोक सेवा तयारी कक्षाको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । उनले नगरका युवालाई सरकारी सेवा प्रवेशमा यस्ता कक्षाले बाटो खोल्ने बताइन् । उच्च शिक्षा हासिल गरेर विदेसिनुभन्दा देशमै सरकारी सेवामा लाग्न तयारी कक्षाले प्रेरित गर्ने उनले सुनाइन् ।
सहभागीलाई तयारी कक्षामा ध्यान दिन आग्रह गर्दै नगरपालिकाको लगानी खेर जान नदिन तन, मन लगाएर तालिममा ध्यान दिनुपर्नेमा जोड दिएकी उनले युवा लक्षित योजना स्वीकृत बजेटमै उल्लेख गरिएको बताइन् ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले अंकका आधारमा नभइ उत्कृष्टताको आधारमा आयोग पास गर्न सकिने बताउँदै नगरले सरकारी सेवा प्रवेशका लागि बाटो खोलिदिएको सुनाए ।
नगरपालिकाको सामाजिक विकास शाखा संयोजक कौशीलाल परियारले स्वागत गरेको कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहन ओलीले आफ्ना अनुभव सुनाएका थिए ।
नगरका ११ वटा वडाबाट ५ ५ जना युवा सहभागी छन् । यस्तै, विद्यालय र क्याम्पसबाट सिफारिस भएर आएका २० जना गरी ७५ जनाले कक्षामा सहभागिता जनाएको सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
कक्षामा डा टोकराज पाण्डे, बद्री कार्की, डिजन भट्टराई, प्रयास भट्टराई, राजेन्द्र निरौला लगायतले सहजीकरण गर्ने नोभा फाउण्डेसनका सञ्चालक प्रकाश पराजुलीले जानकारी दिए ।
गतवर्ष पनि नगरले यस्तो कक्षा सञ्चालन गरेको थियो । सो कक्षामा सहभागी भएकामध्ये तीन जनाले आयोग पास गरेर सरकारी सेवामा प्रवेश गरेको बताइएको छ । कार्यक्रमको सञ्चालन कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।