खेलकुद

आर्मी पाँचथर गोल्डकपको सेमिफाइनलमा

By admin

February 27, 2024

फिदिम । विभागीय टोली त्रिभुवन आर्मी एफसी यहाँ जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

 

भारतको पाहुना टोली हिल्स फुटबल एकाडेमीलाई १-० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । आर्मीका लागि दिशान्त राईले निर्णायक गोल गरेका थिए ।

 

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्णायक गोल आर्मीका लागि दिशान्त राईले खेलको ५२औँ मिनेटमा गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भए । यस्तै, निर्तिका राई फ्यान अफ दी म्याच हुँदै २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् ।

 

भोलि बुधबार पहिलो सेमिफाइनलमा खेल आयोजक पाँचथर क्लबले बागमती युवा क्लब सर्लाहीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, झापा ११ एफसीले बिहीबार अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीको सामना गर्नेछ ।

 

ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबलसहित ८ टोलीले सहभागिता जनाएको यो गोल्डकपको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।