बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ ।
यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यसैगरी, उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ ।
यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्यूरोड टिम (एनआरटी)सँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
तेस्रो क्वाटरफाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुई पटक ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, अन्तिम क्वाटरफाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने गाेल्डकपमा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।