समाज

बुद्धशान्तिको गोपालडाँडामा आगलागी, ३५ लाखको क्षति

By admin

March 08, 2024

झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ स्थित गोपालडाँडाको एक घरमा आज दिउँसो आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

 

प्रहरीका अनुसार दिउँसो ३ः३० बजेको समयमा बुद्धशान्ति २ स्थित गोपालडाँडा बस्ने ६२ वर्षीय शशीधर नेपालको घरमा कुटि काट्ने क्रममा विद्युत सर्ट भइ आगलागी भएको हो ।

 

आगलागीबाट काठ र सिमेन्टले बनेको २ तले घर, घरभित्र राखेको नगद ३० हजार, सुन ९ तोला, चाँदी १२ तोला, टीभी १ थान, सखुवाको काठ ३० क्युफिट, विभिन्न फर्निचरको सामान, महत्वपूर्ण कागजपत्र, कुटि काट्ने मेसिनलगायतका धनमाल जल्दा अन्दाजी ३५ लाख मूल्य बराबरको क्षति भएको छ ।

 

आगलागीबाट घरमा नै जोडिएको गाई गोठसमेत पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

 

ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको ७ जनाको प्रहरी टोली, मेचीनगर र बिर्तामोड नगरपालिकाको दुईवटा दमकल र स्थानीयको सहयोगमा दिउँसो ४ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।