बिर्तामोड । झापा गोल्डकपको छैटौँ संस्करणको उपाधि भिडन्तमा आज सशस्त्र प्रहरी बलको एपीएफ एफसी र चर्च ब्वाइज युनाइटेड एफसी प्रतिस्पर्धा गर्दैछन् । दुवै टोलीले उपाधि रक्षा गर्ने दाबी गरेका छन् ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेलमा एपीएफ र चर्च ब्वाइज पहिलोपल्ट फाइनल प्रवेश गरेका हुन् । चर्च ब्वाइज भने पहिलो सहभागीमै उपाधि नजिक पुगेको हो ।
एपीएफले पहिलो प्रिक्वाटर खेलमा संकटा क्लबलाई पराजित गरेर अघि बढेको थियो । यस्तै, चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गरेर क्वाटरफाइनल खेलेको थियो । यी दुवै टोलीले समान खेल खेलेका छन् ।
यसअघिका संस्करणमा त्रिभुवन आर्मी फुटबल क्लबले चारपटक र मनाङ मस्र्याङदी क्लबले एक पटक उपाधि रक्षा गरेको थियो । पाँचै संस्करणमा फाइनल पुगेको घरेलु टोली झापा ११ एफसी यसपटक सेमिफाइनल खेलबाटै बाहिरियो ।
छैटौँ संस्करणमा आइपुग्दा अब झापा गोल्डकपले नयाँ च्याम्पियन टोली पाउने निश्चित भइसकेको छ । चर्च ब्वाइज र एपीएफले फाइनल यात्रा गरेसँगै कम्तिमा ७ लाख सुरक्षित गरेका छन् ।
यस संस्करणको विजेताले नगद १३ लाख पाउने छ । यस्तै, अन्य विधागत पुरस्कारतर्फ आयोजकले नगदको व्यवस्था गरेको छ । प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।