झापा । तेह्रथुमको फेदाप गाउँपालिका १ स्थित टारी र बाजाघरमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागी भएको गाउँ जङ्गल नजिक, सुखा क्षेत्र हुनुका साथै हावाको वेग तीव्र गतिमा चल्दा आगो निभाउन कठिन भइरहेको फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिए ।
अझै केही घरमा आगो लागिरहेको र प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका अध्यक्ष भेटवालले बताए । आगलागीबाट केही पशुचौपाया मरे पनि यकिन विवरण आइसकेको छैन ।
गाउँका धेरैजसो घरमा खरको छानो भएका कारण आगो निभाउन गाह्रो भएको र केही ठाउँमा अझै पनि आगो लागिरहेको भेटवालले बताएका छन् ।
तमोर र खोरुङ्गा खोलाको दोभानबाट सल्किएको आगो गाउँमा आएको उनको भनाइ छ । फेदापको टारी र बाजाघरमा गरी झण्डै एक सय वटा घर रहेका छन् ।