समाज

विराटनगरमा स्टाफ नर्सको हत्यापछि प्रेमी शिवशंकरले गरे आत्महत्या

By admin

March 18, 2024

मोरङ । विराटनगरमा भएको स्टाफ नर्सको हत्याका आरोपी युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सिरहाको फुल्काहकट्टी घर भएका २३ वर्षीय शिवशंकर दास विराटनगरकै फाइन होटल एन्ड लजको पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

 

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार शिवशंकरलाई होटलको १०२ नम्बर कोठाभित्र आइतबार राति ९ः४५ बजेतिर मृत फेला पारिएको हो। कोठाको चुक्कुल भित्रबाट लगाएर झुन्डिएको अवस्थामा शिवशंकर भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

 

कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पताल लगिएको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको एसपी कार्कीले बताए। उनका अनुसार शिवशंकरले आइतबार बिहान ११ बजेतिर होटलको कोठा बुक गरेको देखिन्छ।

 

विराटनगर ४ स्थित नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा गत शुक्रबार शव फेला परेको थियो। सिरहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको थियो।

 

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार थिए। भान्सा कोठामा प्रयोग हुने कटर र चुलेसीले घाँटी काटेर चन्द्रिकाको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ। उनको हत्या बिहीबार नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

चन्द्रिकाको हत्या गरेको खुलेपछि प्रहरीले फरार रहेका शिवशंकरको खोजी गरिरहेको थियो। यसैबीच उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार शिवशंकर र चन्द्रिका लगभग ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ।