खुदुनबारी । झापा अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा १ हजार ८०१ मत ल्याएर श्रेष्ठ वनको अध्यक्षमा निर्वाचित भएका हुन् ।
लोकतान्त्रिक प्यानलका उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका नरेन्द्रप्रसाद मिश्रलाई ६२० मतले पराजित गर्दै अध्यक्षमा चुनिएका हुन् । मिश्रले १ हजार १८१ मतमात्र ल्याए ।त्यस्तै, हरियाली स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका उम्मेदवार भोलानाथ पौडेलले २२३ मत प्राप्त गरेको निर्वाचन आयुक्त दिपिन राईले जानकारी दिए ।
समितिको उपाध्यक्षमा १ हजार ४०७ मत प्राप्त गर्दै लक्ष्मीराम तिम्सिना विजयी भए । सचिवमा १ हजार ४४१ मत प्राप्त गर्दै उर्मिला कटुवाल अधिकारी विजयी भइन् । सहसचिवमा १ हजार १४४ मत प्राप्त गर्दै सोमनाथ चापागाईं निर्वाचित भएका छन् ।
त्यस्तै १ हजार ५३१ मत प्राप्त गर्दै कोषाध्यक्ष पदमा मनिला जवेगु इङ्नाम लिम्बू निर्वाचित भएकी छन् । त्यस्तै खुला सदस्यमा नरेन्द्रप्रसाद ओझा (२२७), कृष्णप्रसाद बाँस्कोटा (३२४), यमनाथ पराजुली (१६८), यामबहादुर थापा (१६१) र ज्ञानबहादुर कार्की (४७०) विजयी भए ।
यसैगरी, महिला सदस्यमा अनिता खाती (२९५), निरुता लिम्बू (३५७), सरस्वता थापा (१६६), नारायणीकुमारी सुवेदी (१३५)र सविताकुमारी धौलाकोटी (४८४) मत ल्याएर विजयी भएका छन् ।
जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ८३.०९ प्रतिशत मत खसेको थियो । निर्वाचन राईका अनुसार जुकेखाडी वनमा १ हजार ८०७ घरधुरीबाट ३ हजार ५३६ मतदाता रहेका छन् ।
जसअन्तर्गत १ हजार ७२९ घरबाट दुई जना मतदाता मतदानमा सहभागी हुने प्रावधान छ भने उपभोक्ता क्षेत्रमा एकल बसोबास रहेको ७८ घरधुरी छन् । उक्त घरबाट भने एक जनामात्रै मतदाताले मतदान गर्ने प्रवाधान छ ।
कसले कति मत पाए ? (पूर्ण विवरण)