समाज

फेसबुकमा ‘कमेन्ट’ गर्दा झापामा विद्यार्थीमाथि निर्घात कुटपिट

By admin

April 03, 2024

दमक । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्।

 

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

 

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले ‘थोरै भएन र !’ भनेर कमेन्ट गरेकी थिएँ’, निर्जलाले भनिन्, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नालाले खुट्टामा कुट्नुभयो।’ कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ।

 

कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरिन्। ‘मलाई कुटेपछि बुबालाई बोलाएर कागजमा साइन गर्न लगाइयो । भोलिदेखि स्कुल नआउनु भन्नुभएको छ’, उनले भनिन् । छोरीलाई कुटपिट गरेपछि तत्कालै आफूलाई विद्यालय बोलाइएको उनका बुबा नवराज बाँस्कोटाले बताए।

 

‘मलाई फोन आयो । पाँच मिनेटमा जसरी पनि आइपुग्नुपर्छ, अरू म जान्दिनँ भनियो। म जाँदा स्टाटसमा कमेन्ट गरेको कुरा निस्कियो’, उनले भने, ‘एउटा कागज गरेर मलाई दायाँबायाँ सही र ल्याप्चे पनि हनाए। त्यो स्टाटस लेख्ने केटालाई पनि म त्यहीँ हुँदाहुँदै तीन पाइप हाने। छोरीले गलत गरेको भए कानुनीरूपमा सजाय भोग्न तयार हो। तर, यसरी कुट्न पाइँदैन । यसरी कुट्ने हेडसरलाई कानुनी कारबाही हुनुपर्छ।’

 

कुटपिटमा संलग्न प्रधानाध्यापक बगालेले भने घटनाबारे बोल्न मानेनन्। उनले यहीबारेमा छलफल गर्न आफू इलाका प्रहरी कार्यालय दमकमा रहेको बताए । मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ थापाले बालिकामाथि कुटपिट भएको पुष्टि गरे।

 

यसरी बालिकामाथि कुटपिट हुनु गलत भएको बताए पनि उनले यो विषय मंगलबार नै अभिभावकसँग कागज गरेर मिलाएको दाबी गरे। कुटपिट गलत भयो भन्ने कुरा मेरो पनि हो।’

 

कमल गाउँपालिकालाई करिब दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो। बालमैत्री पालिकामा पनि बालबालिकामाथि हिंसा घटेको छैन।