समाज

पाँचथरको सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

By admin

April 21, 2024

फिदिम । मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार ताप्लेजुङदेखि झापा जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल झरेको छ ।

 

दुर्घटनामा परेकामध्ये उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला २ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर ६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदीलाई थप उपचारका लागि झापा लगिएको छ ।

 

यसैगरी, ताप्लेजुङ फुङलिङ ३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीलाई पाँचथर अस्पतालमा उपचार हुन नसकी झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।