खेलकुद

शनिश्चरे एफसीद्वारा ६२ जना खेलाडीलाई तालिम

By admin

April 21, 2024

झापा । झापा जिल्ला लिग च्याम्पियन शनिश्चरे फुटबल क्लबले स्थानीय ६२ जना खेलाडीलाई फुटबल तालिम दिइरहेको जनाएको छ । क्लबमा आवद्ध ७ वर्षदेखि २० वर्षसम्मका खेलाडीलाई तालिम दिइरहेको हो ।

 

अर्जुनधारा ८ मा रहेको क्लबले माघ अन्तिम साता आयोजना गरेको दोस्रो यू १८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । प्रतियोगिताका संयोजक तथा क्लबका सचिव हरि गुरुङका अनुसार दैनिक कम्तिमा ५५ जना खेलाडीले नियमित तालिम लिइरहेका छन् ।

 

क्लबले एकाडेमी सञ्चालन गर्ने लक्ष्य लिएअनुरुप खेलाडीहरु आवद्ध हुने क्रम जारी रहेको उनले जनाएका छन् । क्लबकै प्रशिक्षक पुष्प मादेन (नानी)ले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । तालिम अर्जुनधारा ७ स्थित अर्जुनधारा रंगशालामा हुँदै आएको छ ।

 

जेहेन्दार र विपन्न खेलाडीलाई बुट र जर्सी उपलब्ध गराएको पनि गुरुङले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत ५० हजार रुपैयाँ अक्षयकोषमा राखिने छ । गतवर्षको संस्करणमा पनि ५० हजार अक्षयकोषमा राखिएको थियो ।

 

उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न क्लबले ४ लाख ६७ हजार २९५ रुपैयाँ नगद संकलन गरेको थियो । प्रतियोगिता सम्पन्न गर्दा ३ लाख ६८ हजार ३५० रुपैयाँ खर्च भएको गुरुङले जानकारी दिए । प्रतियोगिता सञ्चालनबाट ९८ हजार ९४५ रुपैयाँ बचत भएको छ ।

 

क्लबले खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष यू-१८ फुटबल प्रतियोगितासँगै खेलाडीहरुलाई प्रशिक्षण गराइरहेको छ । पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), अर्जुनधारा ७ का वडा अध्यक्ष गोविन्द खतिवडा, ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले आफ्ना भनाइ राख्दै सुझाव दिएका थिए ।

 

यसैगरी, पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार तथा झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङ, लक्ष्मीधाप फुटबल क्लबका अध्यक्ष वीरबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।

 

गत माघ २६ गते सम्पन्न भएको प्रतियोगिताको उपाधि अर्जुनधारा ८ ले जितेको थियो । विजेता टिमले नगद५० हजार र उपविजेता बनेको अर्जुनधारा ३ ले नगद ३० हजार पाएको थियो ।