बिर्तामोड । झापाको बिर्तामोडबाट यात्रु लिएर इलामको माबुतर्फ जाँदै गरेको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेहरु सबै झापाका रहेका छन् ।
आज दिउँसो ३ः२० बजेको समयमा इलाम सन्दकपुर गाउँपालिका ४ स्थित माबुमा इलामबाट माबुतर्फ जाँदै गरेको मे. १ ज ३२५५ नम्बरको बोलेरो गाडी उकालोमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परी निम्न व्यक्तिहरु घाइते भएका छन् ।
घाइते हुनेमा बिर्तामोड ३ का ७२ वर्षीय मिनबहादुर गुरुङ, शिवसतासी ६ का ६५ वर्षीया बिष्णुमाया गुरुङ, बिर्तामोड ३ का ५९ वर्षीय ओमकुमार गुरुङ, ६० वर्षीय तुलाराम गुरुङ, ६२ वर्षीया हर्कमाया गुरुङ, बिर्तामोड १० का ४० वर्षीया ज्ञानमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए ।
घाइतेहरुलाई बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको छ । बोलेरोमा १० जना सवार रहेका थिए । बोलेरोका चालक इलाम माईजोगमाई ६ का ३२ वर्षीय प्रेमबहादुर थापा पनि घाइते भएकाले उपचार भइरहेको डीएसपी जवेगुले जानकारी दिए ।