समाज

बिर्तामोडमा ३९ ग्राम ब्राउन सुगरसहित बैतडीका युवा पक्राउ

By admin

April 23, 2024

बिर्तामोड । झापामा ठूलो परिमाणमा लागूऔषधसहित कारोबारीहरु पक्राउ पर्नेक्रममा आज पनि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिकाका युवा छन् ।

 

प्रहरीका अनुसार दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापा ठुलो परिमाणमा प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

आज बिहान १० बजेको बिर्तामोड ३ स्थित विराट आदर्श टोलमा हिँडडुुल गरिरहेका थापालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट नेतृत्वको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यसअघि हिजो साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई ४३.१५ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका थियो ।

 

त्यस्तै आइतबार अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा कनकाई नगरपालिका वडा नम्बर ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरीलाई ४० ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो ।