समाज

धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

By admin

April 23, 2024

शनिश्चरे (झापा) । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा विकसित भएको तथा पूर्वका पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । धाम झापाको अर्जुनधारा नगरपालिका ७ मा रहेको छ ।

 

सरकारले उत्कृष्ट सय वटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्त्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना २०२३ सालबाट बनाउन सुरु गरिएको हो ।

 

पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहतत्तर विकास भइरहेको छ । जलेश्वरधाम क्षेत्रभित्र १०८ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशाला छन् ।

 

महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पुर्‍याएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ ।

 

२०३९ सालदेखि प्रत्येक वर्ष वार्षिक अनुष्ठान गर्दै आएको अर्जुनधारा जलेश्वरधामले हालसम्म ४२औँ वार्षिक अनुष्ठान सम्पन्न गरिसकेको मूल अर्चक सिग्देलले जानकारी दिए । धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठसमेत सञ्चालनमा छ ।

 

विद्यापीठमा ८० जनाले अध्ययन गरिरहेका छन् । कक्षा छ सम्मको पढाई हुने विद्यापीठमा आवासीय सुविधासहित निः शुल्क पठनपाठन गराइने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिले जनाएको छ ।

 

त्यस्तै धामभित्रै रहेको गौशालामा २० वटा गाई पालन गरिएको छ । मूलअर्चक सिग्देलले भने, ‘हाम्रो धाममा आउने ६० जनासम्म भक्तजनहरूलाई खान बस्नसहितको सुविधासमेत रहेको छ ।’ जलेश्वरधामको अधिकांश खर्च दान दातव्यबाट प्राप्त भएको रकमबाटै चल्ने गरेको छ ।

 

केही रकम सङ्घीय सरकार र स्थानीय सरकारले सहयोग गरेको उनले बताए । जलेश्वरधाममा नेपालका मात्र नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । अर्जुनधारा जलेश्वरधामको उचित प्रचार हुन नसकेको स्थानीयको गुनासो छ । रासस